जसपा उपेन्द्र पक्षका कार्यकारिणी सदस्यहरु गोदावारी रिसोर्टमा, के हुँदैछ त्यहाँ ?


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराईपक्षको बैठक ललितपुरको गोदावरी रिसोर्टमा सुरु भएको छ ।

सांसद र कार्यकारिणी समिति सदस्यहरुलाई राखेर यादव, भट्टराई, आशोक राई ,राजेन्द्र श्रेष्ठ महेन्द्र राय यादवलगायत नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गराउने भएका छन् । पार्टी कार्यालय बालकुमारीमा १ बजेदेखि बैठक बस्‍ने भनिए पनि पछि सबै कार्यकारिणी सदस्य र सांसदलाई रिसोर्टमा राखेर छलफल गर्न थालिएको एक कार्यकारिणी सदस्यले बताए।

‘निर्वाचन आयोगले भोलि ११ बजे सबै कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि नागरिकतासहित उपस्थिति हुन निर्देशन दिएको छ,’ ती सदस्यले भने, ‘त्यसका विषयमा ब्रिफिङ गर्न बैठक बोलाएको हो ।’ ब्रिफिङका लागि बैठक बोलाएको भनिएपनि अब भोलीसम्म सबैलाई रिसोर्टमै राखिने स्रोतले जनायो ।

उपेन्द्र-बाबुरामपक्षमा कार्यकारिणी सदस्य ३३ जना पुगेका छन् । राजकिशोर यादवले समेत शनिबार साथ दिने भनेकाले ३४ जना पुग्‍नेछ । जसपाका ३२ जना सांसदमध्ये राजकिशोरसहित २१ जना पुग्‍ने छन् । जसपा महन्थ–राजेन्द्रपक्षका अन्य नेताहरुसंग छलफल भएकाले त्यो संख्या सोमबार बढ्नसक्ने आकलन गरिएको छ ।

महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष अल्पमतमा परेका छन् । जसपा अधिकारिकता उपेन्द्र–बाबुराम पक्षले पाउने निश्चित भएपछि महन्थ–राजेन्द्र पक्षमा सांसद र कार्यकारिणी समिति सदस्य घट्न सक्ने बताएको छ ।

प्रकाशित : २०७८ श्रावण १०, आईतवार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ