वीरगंज नाकाबाट ५ खर्ब १३ अर्बको सामान आयात, ५३ अर्बको समान निर्यात


वीरगंज : वीरगंजस्थित दुई वटा भन्सार नाकाबाट गत आव २०७७/०७८ मा ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । दुबै भन्सारबाट ५३ अर्ब रुपैयाँ बराबरको वस्तु निकासी भएको छ ।

वीरगंजको आइसिपी र सुख्खा बन्दरगाह भन्सार नाकाबाट ती सामान आयातनिर्यात भएको हो । सुख्खा बन्दरगाह भन्सार नाकाबाट २६ अर्ब १६ करोडको मालसामान भित्रिएको छ भने ३८ करोड रुपैयाँ मूल्य बराबरका समान भारत तथा तेस्रो मुलुकमा निकासी भएको छ । वीरगंज भन्सारबाट अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवको कुल व्यापार २७ प्रतिशतले बढेको निर्यात व्यापारमा भटमास र सनफ्लवार तेलको मुख्य योगदान रहेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

गतवर्ष कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले आयात प्रभावित भएको थियो । तर आर्थिक वर्षको अन्त्यतिर निषेधाज्ञा खुकुलो भएपछि सवारी साधन र इन्धनको आयात बढेको थियो । जुत्ता, चप्पल, हार्डवेयर, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको जानकारी पौडेलले दिए ।

वीरगंज भन्सार नाकाबा भित्रिने मुख्य बस्तुमा सवारीका साधन र पेट्रोलियम पदार्थ मुख्य हुन् । गत आवमा यो नाकाबाट जीपकार भ्यान, मोटरसाइकल, ट्रक, मिनी ट्रकलगायतका सवारी साधन, इन्धन बढी भित्रिएको छ । वीरगंज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थ पनि उल्लेख्य परिमाणमा भित्रिन्छ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले यही नाकाबाट कच्चा पादर्थ भित्र्याउने गरेको वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

कार्यालयका अनुसार एमएस बिलेट, कोइला, एमएस स्टील स्ट्रिप, पोलिथिन दाना, खाद्यान्न तथा दाना उद्योगको कच्चा पदार्थ पनि उल्लेख्य आयात भएको देखिएको छ । सुख्खा बन्दरगाह भन्सारबाट गतवर्ष फलाम उद्योगका कच्चा पदार्थ, केराउ, मदिरा, तोरी, मरिच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्रिएको कार्यालयका सूचना अधिकारी चुडामणि शर्मा कट्टेलले जानकारी दिए । यही अवधिमा चाउचाउ, अचार, पिठो, टायर, छाला, जडीबुटीलगायत वस्तु निर्यात भएको उनले बताए । – बिजमाण्डू

प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ११:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ