सबैलामा बस्ती नै डुबाउने खालको नाला निर्माण, जनता आक्रोशित


जनकपुरधाम : बर्षाको पानीले बस्ती डुबानमा नपरोस् र बर्षाको पानी सहज निकास हुने तरिकाले नाला निर्माण गरिएको हुन्छ । नाला निर्माण गर्दा जमीनको सतहदेखि केही गहिराइमा नाला निर्माण गरिनुपर्दछ । जसले गर्दा बर्षाको पानी र घर प्रयोगमा खर्चिएकोे पानी नाला हुँदै सहज निकास होस् । संसारको जुनसुकै स्थानमा यस्तै तरिकाले नाला निर्माण गर्ने गरिन्छ ।

हाल देशको कतिपय स्थानमा निर्माण भइरहेको नाला पनि सोही तरिकाले बनिरहेका छन् । निकासबिनाको नाला निर्माण गर्दा यसले विनाश त गर्छ नै, लगानी पनि व्यर्थ जान्छ । यस्तै नाला निर्माण भइरहेको छ धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ शिवनगरमा । त्यहाँ निर्माण भइरहेको नाला जमीनको सतहदेखि झण्डै ३ फिट अग्लो बनाइएको छ । जसले गर्दा बर्षाको पानी बगेर जानुको सट्टा बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयबासीको छ ।

बर्षाको पानी निकासका लागि निर्माण गरिएको नालाका कारण उल्टै घर डुबानमा पर्ने जोखिम बढेपछि स्थानीयबासीले नाला भत्काएर पुन:निर्माण गर्नुपर्ने माग गर्न थालेका छन् । जमीनको सतहदेखि झण्डै ३ फिट अग्लो नाला निर्माण गरेका कारण बस्तीका अधिकांश घर डुबानको जोखिममा परेपछि स्थानीयबासीले नाला भत्काएर पुनःनिर्माण गर्नुपर्ने माग गरेका हुन् ।

प्रदेश २ सरकारको ६० लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको नाला कतिपय ठाउँमा निर्माण भइसकेको छ भने कतिपय स्थानमा बेढङ्गको नाला निर्माण गर्न नदिने भन्दै स्थानीयबासीले निर्माणमा रोक लगाएका छन् ।

नाला निर्माणका ठेक्का पाएका सबैलाका ठेकेदार अनिल यादवले आफूखुशी नाला निर्माण गर्न लगाएको स्थानीयले आरोप लगाए। प्राविधिक पक्षको अनुगमन नहुँदा ठेकेदोरले मनपरी गरेकाे बताउँदै आएका छन् । ‘यस्तो नालाबाट पानी निकास हुँदै-हुँदैन। बरु बर्षाको पानी थुनिएर घर डुबानमा पर्ने जोखिम बढेको छ’, स्थानीयबासी फेकन राउतले गुनासो गरे ।

बर्षाको पानीले बस्ती डुबानमा नपरोस् र बर्षाको पानी सहज निकास हुने तरिकाले नाला निर्माण हुनुपर्ने हो । तर संसारमै कतै नदेखिएको ‘डिजाइन’ मा यहाँ नाला निर्माण भएको छ। पानी निकास नहुने नाला निर्माण गरेर सरकारको लगानी पनि व्यर्थ भएको उनले बताए ।

जनताले पसिनाको कमाइबाट तिरेको करले बनेको नालाले जनता नै दुखी भएका छन् । ‘बर्षायाममा जहिल्यै बस्ती डुबानमा पर्ने र मूल सडक हिलाम्मे भइरहने यस ठाउँमा नाला बन्न लागेपछि गाउँबासी खुशी भएका थिए । तर प्राविधिककै सल्लाहमा बनेको यस्तो नालाले सबलाई दुखि बनाएको छ’, अर्का स्थानीयबासी बिनोदकुमार पालले भने । आवत-जावत गर्न र चौपाया ल्याउन-लैजान समस्या भइरहेको भन्दै उनले भने, ‘आफ्नो घर अगाडिको नाला जेसिबी लगाएर भत्काइदिन्छु ।’

सबैला नगरपालिकाका इन्जिनीयर रन्जित यादवले प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको नालाको नक्साङ्कन प्रदेश सरकारको इन्जिनीयरले गरेको बताए । ‘के सोचेर यस प्रकारको नाला बनाउन लगाएको हो, उसैलाई सोध्नुस्’, उनले भने । ठेक्का पाएका निर्माण व्यवसायी अनिल यादव न त निर्माण स्थलमा भेटिन्छन्, न त फोन नै उठाउँछन् । जसले गर्दा यथार्थमा कसको त्रूटीले यस्तो नाला निर्माण भयो भन्नेबारे बुझ्न सकिएकाे छैन ।

प्रकाशित : २०७८ श्रावण १६, शनिबार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ