कोरोनाले बन्द कलैयाका विद्यालयहरु सञ्चालनमा आयो


वीरगञ्ज : बाराको कलैया उपमहानगरपालिकामा सोमबारबाट विद्यालयहरु सञ्चालनमा आएको छ । नगर शिक्षा समितिको निर्णय अनुसार भौतिक उपस्थितिमै पठनपाठन शुरु भएको हो ।

नगर शिक्षा समितिको साउन १५ गते बसेको बैठकले कोरोना संक्रमण घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खोल्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम विद्यालयहरु सञ्चालनमा आएको छ । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि गत वैशाख १३ गतेबाट विद्यालयहरु बन्द गरिएको थियो ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद वर्णवालले आइतबार सूचना निकालेर माथिल्ला कक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएका थिए । सूचनामा कक्षा १–५ सम्म अध्यापन हुने आधारभूत विद्यालयलाई कक्षा ४ र ५, कक्षा १ देखि ८ सम्म अध्यापन हुने आधारभूत विद्यालयलाई कक्षा ६, ७ र ८, कक्षा १ देखि १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयलाई कक्षा ८, ९ र १० र कक्षा १ देखि १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयलाई कक्षा ८ देखि १२ सम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न आग्रह गरिएको छ ।

तोकिएको कक्षाबाहेक अन्य कक्षा तत्कालका लागि बन्द नै राख्न कलैया उपमहानगरपालिकाले आग्रह गरेको छ । कलैयामा ७२ वटा सामुदायिक विद्यालय छन् भने ४० वटा निजी तथा आवासीय विद्यालय छन् । प्रदेश २ का १३६ स्थानीय तहमध्ये सबभन्दा पहिले कलैया उपमहानगरले विद्यालय सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : २०७८ श्रावण १८, सोमबार २०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ