जनकपुर : एसिड बेच्नेलाई उन्मुक्ति दिएपछि आरती आक्रोशित, प्रहरीले समात्यो !


जनकपुरधाम । आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेच्नेलाई अदालतले सफाइ दिएपछि आक्रोशित बनेकी छन् ।

जिल्ला अदालत धनुषाले उनीमाथि एसिड खन्याउने उनकै श्रीमान सञ्जीव साहलाई दोषी ठहर गरेको छ भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको छ । सोमबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीबलाई दोषी ठहर र एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको हो । सञ्जीवमाथि सजाय निर्धारण भने बाँकी नै छ ।

अदालतको फैसलाविरुद्ध आरतीले मंगलबार अदालत पुगेर आपत्ति जनाएकी हुन् । एसिड बेच्ने नागेन्द्रलाई किन सफाइ दिएको भनेर उनले अदालतमै आक्रोश पोखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ‘अदालतमा हल्ला गर्न पाइँदैन भनेर उनलाई प्रहरी कार्यालय लिएर आएका हौं’ धनुषाका डीएसपी जितेन्द्र बस्नेतले भने । आरतीलाई सम्झाई बुझाई छाडिदिने बस्नेतले बताए ।

अदालतले एसिड बेच्नेलाई सफाइ दिएको खबर पाएलगत्तै आरती आक्रोशित बनेकी छन् । उनले वकिलले पैसा खाएर एसिड बेच्नेलाई सफाइ दिन लगाएको आरोप लगाएकी छन् ।आरतीमाथि एसिड खन्याएकै दिन पक्राउ परेका श्रीमान सञ्जीवबिरुद्व सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।

२०७७ कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए । – अनलाईन खबर

प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १३:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ