प्रदेश २ : प्रदेशसभाका उपसचिव यादवको तलब रोक्का


जनकपुरधाम : प्रदेश नम्बर- २ का प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवको तलब रोक्का गरिएको छ । संघीय संसद् सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निमित्त सचिव यादवको तलब रोक्न पत्राचार गरेको हो ।

यादव संघीय संसद्मा कार्यरत रहँदा निजामती सेवाअन्तर्गत प्रदेश–२ मा ०७५ चैत १२ गतेको निर्णयानुसार समायोजन भएर आएका थिए । त्यति बेला संघीय सचिवालयको नगद एवं जिन्सी बरबुझारथ नगरेको कारण तलब रोक्का राख्न निर्देशन दिइएको जनाइएको छ ।

प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा उपसचिव यादवले रमनासमेत नलिई प्रदेशमा हाजिर भएको उल्लेख छ । पटक–पटक ताकेता गरे पनि अटेरी गरेको, पत्राचार गर्दा जवाफ नदिएको र सार्वजनिक सूचना प्रकाशन गर्दासमेत कुनै प्रतिक्रिया नदिएको पत्रमा पनि उल्लेख छ ।

वित्तीय उत्तरदायी ऐनानुसार उनको नाममा रहेको पेस्की फर्छ्योट र जिन्सी बरबुझारथ नगरेसम्म तलब–भत्ता रोक्का राख्न संघीय सचिवालयको निर्णयानुसार अनुरोध गरिएको हो । यादवले संघीय संसद् सचिवालयबाट लिएको पेस्कीबापतको ५४ हजार ३०० रुपैयाँ नगद, एकथान मोटरसाइकल र एकथान ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू हालसम्म नबुझाएको बुझिएको छ ।

यता, यादवले भने सुरुमा आफू काजमा खटिएको हुनाले बरबुझारथ गर्न नसकेको बताए । ‘एक महिनाको लागि प्रदेशसभा सचिवालयमा काजमा आएको थिएँ,’ उनले भने, ‘पछि यतै सरुवा भयो । त्यसपछि म काठमाडौं जानै पाइनँ ।’

प्रकाशित : २०७८ श्रावण २७, बुधबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ