सप्तरीमा बेथिति : झोलुंगे पुल बनेन, झण्डै एक करोड निकासा


राजविराज : स्थानीय तहले जनप्रतिनिधि पाएको चार वर्ष बितिसक्दा जनप्रतिनिधिहरु काम भन्दा बढी विवादमा मुछिन थालेका छन् । पछिल्लो पटक तिलाठी कोईलाडी गाउँपालिकामा दुईवटा पुल निर्माण योजनाका काम अघि नबढे पनि गाउँपालिकाले लाखौँ रकम निकासा गरेको छ ।

गाउँपालिकाको वडा ७ मंसापुरस्थित जिता खोला तथा वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुङ्गे पुल निर्माण योजनामा कामै नगरी लाखौँ बजेट निकासा भएको हो । मंसापुरमा झोलुंगे पुल निर्माणका लागि कुल २९ लाख, १९ हजार, ७ सय ५६ रुपैयाँ बजेट बिनियोजन गरिएकोमा कामै नगरी १६ लाख ३७ हजार पेस्की निकासा गरिएको पाइएको छ ।

यसैगरी वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुंगे पुल निर्माण योजनाका लागि २ करोड ८२ लाख ८० हजार १ सय ५० बिनियोजन गरेकोमा ७० लाख निकासा गरेको पाइएको छ । कागजमा झोलुंगे पुल निर्माण गरी बजेट निकासा गरे पनि काम भने नभएको तिलाठी कोइलाडी गाउँपालिका ७ का बिनोद रामले बताए । ‘बजेट निकासा त भयो काम भने फिटिक्कै भएको छैन,’ रामले भने ।

तिलाठी कोईलाडी गाउँपालिका ७ का सकलदेव खंगले पुल निर्माणमा बजेट आएको कुरा आफुलाई जानकारी नभएको बताए । उनले पुल निर्माण नहुँदा आवत जावतमा समस्या भएको बताउँदै पानीमा डुबेर खोला तर्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।

यसैगरी तिलाठी–सकरपुरामा समेत पुल निर्माणको काम नभएको स्थानीयले बताएका छन् । झोलुङ्गे पुल निर्माण हुनेबारे सुन्नुमा आएको थियो एक स्थानीयले भने तर काम भने भएकै छैन । तिलाठी–सकरपुरामा पुल निर्माण कार्यका लागि उपभोक्त समिति निर्माण भए पनि काम भने नभएको उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र मुखियाले जानकारी दिए । पेस्की वापतको बजेट निकासा गरी गाउँपालिकाले आफ्नै खातामा राखेको उनले जानकारी दिए ।

तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले कोरोना महामारी तथा बाढीका कारण पुल निर्माण कार्य नभएको बताए । उनले उपभोक्ता समिति अन्तिम समयमा गठन भएकोले काम गर्न समस्या भएकोले छिट्टै पुल निर्माणको कार्य शुरु हुने बताए । सकरपुरामा उपभोक्तबाट काम नभएपछि टेन्डरद्वारा पुल निर्माण गर्ने तयारी भइरहेको अध्यक्ष सिंहले बताए ।

(यो समाचार अन्नपूर्ण पोष्टमा सौरभ यादवले लेखेका छन् ।)

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ