कमला नदी जलाधार क्षेत्र जलस्रोत विकास रणनीति तयार


काठमाडौं : कमला नदी जलाधार क्षेत्रको जलस्रोत विकास रणनीति तयार भएको छ । शुक्रबार अष्ट्रेलियाका राजदूत फेलिसीटी वोल्कले अष्ट्रेलियाली आर्थिक सहयोगमा तयार पारिएको वाटर रिसोर्सेज डेभलप्मेण्ट स्ट्राटजी फर द कमला रिभर बेसिन, नेपाल, (कमला नदी जलाधार क्षेत्रको जलस्रोत विकास रणनीति), जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मणिराम गेलाललाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै राजदूत वोल्कले सबै नेपालीहरूको पानीको आवश्यकता दीगो रुपमा पूरा गर्न प्रमाणमा आधारित र सरोकारवालाहरुसँग व्यापक छलफल गरेर गरिने जलस्रोत व्यवस्थापन महत्वपूर्ण हुने बताएका छन् । उनले भने, ‘नेपालभर देखिएको मौसम परिवर्तनका प्रभावहरुले जलस्रोत ब्यबस्थापन अझै चुनौतिपूर्ण भइरहेको छ ।’

अष्ट्रेलिया सरकारको सस्टेनेवल डेभलप्मेण्ट ईन्भेस्टमेन्ट पोर्टफोलीयो (एसडीआईपी) को माध्मबाट, अष्ट्रेलियाको कमनवेल्थ साईन्टीफिक एण्ड ईन्डस्ट्रियल रिसर्च अर्गनाईजेसन (सीएसआईआरओ) र नेपालको जल तथा ऊर्जा आयोगको सचिवालयले कमला नदीलाई केन्द्रित गरेर जलाधार क्षेत्र योजना तयार गर्ने र जलस्रोत व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्न सहकार्य गेरेका थिए ।

यो रणनीति कमला बेसिन ईनिसीएटिभअन्तर्गत प्रकाशित अन्तिम दस्ताबेज हो । यसअघि स्टेट अफ द कमला रिभर बेसिन (कमला जलाधार क्षेत्रको अवस्था) र रिकमेन्डेसन अन पोलीसी एण्ड लिगल इन्स्टुमेन्टस फर वाटर रिसोर्स मेनेजमेण्ट (जलस्रोत व्यवस्थापनका लागि नीतिगत र कानुनी सिफारीस) पुस्तकहरु तयार गरिएको छ । उक्त रणनीतिले कमला जलाधार क्षेत्र योजना तयार गर्न दिशानिर्देश गर्ने बताइएको छ ।

यो रणनीति तयार गर्दा तीनै तहका सरकारहरू, नागरिक समाज र स्थानीय सरोकारवालाहरुसँग छलफल गरिएको थियो । यसले अन्य जलाधार क्षेत्रहरुको जलस्रोत ब्यवस्थापन योजना बनाउन एउटा महत्वपूर्ण नमूनाको काम गर्ने पनि बताइएको छ ।

‘यो रणनीतिले सबै सरोकारवालाहरूलाई जलस्रोत उपयोगको उद्देश्य पहिचान गर्न पनि दिशानिर्देश गर्नेछ,’ राजदूत वल्कले भने, ‘यो दस्तावेजले कमला जलाधार क्षेत्रमा थप कामहरु गर्न आधार दिने छ र एकातर्फ एकदम कम पानी उपलब्ध हुने र र अर्कोतर्फ अत्याधिक पानी हुने जस्ता समस्याहरुलाई झैल्दै आइरहेको अवस्थामा नेपालका अन्य जलाधार क्षेत्रमा पनि यो दस्ताबेज काम लाग्ने छ ।’

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार ०७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ