जनकपुर : युवा सञ्जालले साइकल दिएपछि फर्कियो खातुनलको खुशी


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ९ स्थित श्री जानकी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा लाड्ली खातुनले साइकल पाएकी छन् ।

प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियान अन्तर्गत विद्यालयले कक्षा ९ मा अध्ययनरत ३२ छात्रालाई सोमबार साइकल बाँडेको थियो । तर भारतीय भन्दै छात्रा खातुनलाई साइकल नदिएपछि उनी धुरुधुरु रोएकी थिइन् ।

यो समाचार प्रकाशित गरेपछि जिल्ला युवा सञ्जाल धनुषाले छात्रा खातुनलाई घरमै पुगेर साइकल हस्तान्तरण गरेको छ । साइकल पाएपछि उनी खुःशी देखिइन् । सञ्जालका अध्यक्ष धिरज साहले ८ हजार रुपैयाँमा साइकल खरिद गरेर उनलाई साइकल दिएको जानकारी दिए ।

जनकपुरधाम ८ स्थित डेरा लिएर खातुन आमा-बुवासँग बस्दै आएकी छन् । भारतको सितामढी घर भएको उनको परिवार विगत ४५ वर्षदेखि जनकपुरमा बस्दै आएको बुझिएको छ । खातुनको जन्म पनि जनकपुरमै भएको हो । उनी कक्षा १ देखि नै सो विद्यालयमा पढ्छिन् ।

नेपालको जन्मदर्ता प्रमाणपत्र नभएका कारण खातुनका लागि मुख्यमन्त्री कार्यालयले नै साइकल उपलब्ध नगराएको विद्यालयका शिक्षकहरु बताउँछन् ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ