पूर्वमन्त्री कुश्वाहाले अझै फिर्ता गरेनन् सरकारी गाडी


जनकपुरधाम : मन्त्रीबाट पदमुक्त भएको करिब एक महिनाभन्दा बढी बितिसक्दा पनि प्रदेश २ का एकजना पूर्वमन्त्रीले गाडी अझैसम्म फिर्ता गरेका छैनन् ।

प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुश्वाहाले मन्त्रीको हैसियतमा प्रयोग गर्दै आइरहेको गाडी फिर्ता नगरेका हुन् । राज्यमन्त्रीको हैसियतमा प्राप्त गरेको सेवासुविधामध्ये कुश्वाहाले चारपाङ्ग्रे गाडी र सीसीटिभी क्यामेरा फिर्ता नगरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएका गाडी र सुरक्षा प्रयोजनका लागि मन्त्रालयकै खर्चमा निवासमा जडान गरिएको पाँच थान सीसीटिभी क्यामेरा मन्त्री कुश्वाहाले फिर्ता नगरेको मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव विरेन्द्र यादवका अनुसार राज्यमन्त्री कुश्वाहाले मन्त्रीको हैसियतमा प्रयोग गर्दै आइरहेको मन्त्रालयको एक थान चार पांग्रे गाडी र निवासमा जडान गरिएको पाँच थान सीसीटिभी क्यामेरा पदमुक्त भएको एक महिनाभन्दा बढी बितिसक्दा पनि बुझाएका छैनन् ।

पटक-पटक गाडी र सीसीटिभी क्यामेरा फिर्ता गर्न ताकेता गर्दा समेत कुश्वाहाले बेवास्ता गर्दै आएको मन्त्रालयले जनाएको छ ।पूर्वराज्यमन्त्री कुश्वाहाले भने आफूले मन्त्रीबाट हटेलगत्तै सबै सामानहरू फिर्ता गरिसकेको दाबी गर्दै कुनै सामान बाँकी भए मन्त्रालयले आफ्नो सचिवालयलाई पत्र पठाउन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले साउन २ मा तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री कुश्वाहालाई फिर्ता बोलाएका थिए ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ