धनुषाका एसपीकै नक्कली फेसबुकबाट ठगी धन्दा !


जनकपुरधाम । अपराधीलाई कारबाहीको दायरामा ल्याउने काम गर्छ प्रहरी । तर प्रहरी अधिकारीकै नामबाट सामाजिक सञ्जाल मार्फत ठगी गर्न खोज्नेहरुको संख्या बढ्न थालेको छ । पछिल्लो समय धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटको नक्कली फेसबुक आइडी बनाएर अज्ञात व्यक्तिले रुपैया ठग्न खोजेको खुलेको छ ।

एसपी रानाभाट भन्छन्, ‘फेसबुकमा मेरो नामको फेक आइडी बनाएर मेरै साथीहरुसँग रुपैयाँ माग्न थालेका थाहा पाएँ । तत्कालै त्यो आइडी बन्द गराउने प्रक्रिया थालेको छु ।’ आफ्नो नामको फेक आइडी भदौं १३ गते बनाइएको खुलेको उनको भनाई छ ।

फेक आइडी बनाउने व्यक्तिको पहिचान भने खुल्न सकेका छैन । फेक आइडीबाट धनुषाकै पत्रकारसँग रुपैयाँ ठग्न खोजिएको थियो । फेक आइडी बनाउने ठगले ‘गुगल पे’मार्फत रुपैयाँ पठाउन भनिएको थियो ।

एसपी रानाभाटले थाहा पाएपछि आफ्नो आधिकारिक फेसबुकबाट साथीहरुलाई सचेत हुन आग्रह गरेका थिए ।फेक आइडी बनाएर रुपैयाँ ठगी गर्न खोज्नेको पहिचान गर्न सम्बन्धित निकायमा मौखिक उजुरी गरेको एसपी रानाभाटले बताएका छन् ।

यसअघि प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी रामेश्वर कार्कीको नक्कली फेसबुक बनाएर पनि अज्ञात व्यक्ति ठगी धन्दा चलाएका थिए । तर अहिलेसम्म ति व्यक्तिको पहिचान भएको छैन । उनको आइडी बनाउने व्यक्ति भारतीय भएको कारण पक्राउ नपरेको बताइएको छ ।

विगतमा इमो र ह्वाट्स एप मार्फत भारतीयहरुले चिट्ठा परेको प्रलोभन देखाएर ठग्दै आएको थियो । तर पछिल्लो समय प्रहरी अधिकारी र अन्य भिआइपीहरुको नामबाट फेसबुक आइडी बनाएर ठगी धन्दा चलाउने अपराधि गिरोह सक्रिय भएको छ । कसैले अन्य व्यक्तिको नाममा सामाजिक सञ्जालमार्फत पैसा मागेपछि सचेत हुन प्रहरीको अनुरोध छ ।

सामाजिक सञ्जालमार्फत ठगी गरेको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा मात्रै १० वटा उजुरी परेको छ । हुन त ठगीमा परेका धेरैले उजुरी नै गर्दैनन् । तर जो उजुरी गर्छन्, ति अधिकांश घटनामा संलग्न अभियुक्त समेत कारबाहीको दायरामा आएको देखिदैन ।

धनुषामा प्रहरीमा परेको उजुरीमध्ये दुई घटनाको मात्र अनुसन्धान पश्चात त्यसमा संलग्न व्यक्तिलाई कारबाही भएको एक प्रहरी अधिकारीले बताए । उनका अनुसार ८ वटा मुद्दामा अहिले अनुसन्धान चलिरहेको छ ।

प्रकाशित : २०७८ भाद्र १५, मंगलवार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ