मुसलमान समुदायकी जेवा, जो बनिन् डाक्टर


राजविराज : अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन ।

सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरिन् । पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन् । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बन्नुभएको छ खातुन ।

उनी हालै एमबिबीएस उत्तीर्ण भएकी छन् । जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मेकी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्तीर्ण गरेकी हुन् ।

एमबिबीएस उत्तीर्ण गर्नुको श्रेय उनले आफ्ना आमाबुबालाई दिएकी छन् । “शायद उहाँहरुले नपढाउनुभएको भए आज चिकित्सक बन्ने थिइनँ’, उनले भनिन्, ‘बल्ल मेरो सपना पूरा भएको छ ।’ आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि साह्रै खुसी लागेको खातुन बताउँछिन् ।

नर्सरी कक्षामै पढ्दाखेरी सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा आफ्नो दिमागमा खेलिरहेको उनले सुनाइन् । त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लगिन् खातुनले । उनले विसं २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् भने विराटनगरबाट उच्च मावि उत्तीर्ण भएलगत्तै मेडिकल प्रवेश परीक्षाका लागि तयारी थालिन् ।

परीक्षा त दिइन् तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकिनन् । उनी भन्छिन्, ‘तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाउनुभयो ।’ एमबिबीएस उत्तीर्ण गरेपछि उनी अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहेकी छन् ।

प्रकाशित : २०७८ भाद्र १६, बुधबार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ