अमेरिकामा आँधीबेहरी : ४० भन्दा बढीको मृत्यू, रेलसेवा बन्द, उडानहरू रद्द


बीबीसी : अमेरिकाको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा छ । अहिलेसम्म ४० जनाभन्दा धेरैको ज्यान गएको हो ।

न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन् । समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो ।

समुद्री आँधीको आवृत्ति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्नेबारे अझै स्पष्ट छैन । तर के चाहिँ निश्चित छ भने समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताउँछ र तुफान, चक्रवात र समुद्री हुरी अर्थात् टाइफून उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्छ ।

त्यस्तो अवस्थामा त्यस्ता प्रवृत्तिहरू धेरै विनाशकारी हुने र चरम वर्षा गराउने सम्भावना रहन्छ । औद्योगिक युग सुरु भएयता विश्वमा ‍औसत १।२ डिग्री सेल्सिअस तापक्रम वृद्धि भइसकेको छ । उत्सर्जन कटौतीमा विश्वभरिका सरकारहरूले काम नगरे यो क्रम निरन्तर रहने देखिन्छ ।

न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताएकी छन् । त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन् । न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ । कैयौँ उडानहरू रद्द भएका छन् ।

देश संकटमा परेको बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताएका छन् । उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको ‘जीवन वा मरणको सवाल भएको’ बताए ।

प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ