शहिदनगर : एक परिवारमाथि अन्याय, सडकमा बार लगाएर घरमै थुनेपनि प्रहरी मौन


जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका– २ चोराकोइलपुरका भुला यादवले खेतमा जाने निकास नपाएपछि सार्वजनिक सडक नै छेकेका छन् । उनले सडकमै बार लगाएपछि छिमेकी प्रदिप यादवको परिवार झन् समस्यामा परेको छ ।

खेतमा जाने बाटो नदिएको भन्दै प्रदीपलाई घर बाहिर निस्किनै नदिन सार्वजनिक बाटोमै भुलाले बार लगाएका हुन् । सोमबार बिहानै भुलाले सडकमा बार लगाएका हुन् । त्यसपछि घर बाहिर निस्किन नपाएका प्रदीपले प्रहरी चौकी चोराकोइलपुरमा खबर गरे । तर प्रहरीले कुनै चासो नदिएको उनको गुनासो छ ।

प्रदीपले भने, ‘घरको पछाडि रहेको खेतमा आवत–जावत गर्न बाटोका लागि उनले मेरो निजी जग्गा मागे । मैले अस्वीकार गरेपछि सार्वजनिक बाटो नै घेरेर मलाई समस्यामा पारेका छन् ।’

प्रदीपको घर पछाडि भुलाको साढे ३ कट्ठा जग्गा छ । त्यो जग्गामा जाने बाटो छैन । भुलाले जबर्जस्ती प्रदीपसँग बाटो मागेको र नदिएपछि बलजफ्ती सार्वजनिक बाटो घेरेका छन् ।

कानून बमोजिम कसैले कुनै बहानामा कसैको बाटो छेक्न पाइदैन । कानूनको पालना गराउने प्रहरी भने मुकदर्शक बनेको छ । प्रहरी चौकी चोरा कोइलपुरका असई जयनरेश चौधरी भन्छन्, ‘प्रदिपले खेतमा जान पहिले बाटो दिएको थियो । तर पछिल्लो समय बाटो बन्द गरेपछि भुलाले पनि बाटो छेकेका छन् ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिनेश अधिकारीले उक्त घटना विषमा अनभिज्ञता जनाए ।

प्रकाशित : २०७८ भाद्र २४, बिहीबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ