धनुषा, सिरहा सहित मधेसमा आज ‘चौरचन’ पर्व मनाइँदै


जनकपुरधाम : धनुषा, सिरहासहित मधेसका जिल्लाहरूमा आज चौरचन पर्व मनाइँदैछ । भदौ शुक्लपक्षको चौथीका दिन यो पर्व मनाइने गरिन्छ ।

मधेशी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिएको छ । यो पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने परम्परा छ ।

पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री राखेर पूजा गरिन्छ । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुनेछ ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल चढाइने परम्परा छ ।

प्रकाशित : २०७८ भाद्र २५, शुक्रबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ