लहानमा एटीएम तोडेर रुपैयाँ चोरी गर्न खोज्ने पक्राउ


जनकपुरधाम : गत साउन ३० गते मध्यरातमा मागैन कुमार यादव सिरहाको लहान वरिपरि घुम्दै थिए । उनी लहान नगरपालिका–१ स्थित एनआईसी एशिया बैंकको एटीएम नजिक राति १ बजे पुगे ।

एटीएम नजिक एकछिन पर्खे । वरिपरि आँखा लगाए, कसैलाई देखेनन् । बाटो पनि सुनसान थियो । अनि सुटुक्क एटीएमको कोठाभित्र प्रवेश गरे । औजारसहित पुगेका यादवले एटीएम फुटाउन थाले ।

एटीएमकै मथिल्लो तल्लामा बैंकको कार्यालय छ । बैंकमा लगाइएको साइरन बज्यो । साइरनको अवाज सुनेर यादव आत्तिए । कोही आयो कि भनेर बाहिर गएर हेरे । कोही नदेखेपछि फेरि एटीएम भएको कोठामै फर्किए । तर, उनी डराइसकेका थिए ।

पैसा निकाल्न खोजेका यादव अगाडि बढ्न सकेनन् । तुरुन्तै औजारको झोला लिएर भवनको छेउ भएर त्यहाँबाट निस्किए । उनी र उनले गरेका क्रियाकलापलाई बैंकको सीसीटीभी क्यामेराले कैद गरिसकेको थियो । तर, त्यसयता उनी केहीदिन लुकेरै बसे ।

बुधबार सिरहा प्रहरीले गोप्य सूचनाको आधारमा एक महिनापछि यादवलाई पक्राउ गरेको छ । लहान नगरपालिका २३ गढियाँबाट उनलाई सादा पोशाकमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लहानले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

सिरहाका प्रहरी उपरीक्षक हिरा पाण्डेले अदालतबाट म्याद थप गरी चोरी उद्योग मुद्दा चलाएको बताए । “एटीएम फुटाएर पैसा चोरी गरेको थिएन । चोरी गर्नु पूर्व नै छोडेर भाग्यो । त्यसकारण चोरी उद्योग मुद्दा मात्रै चलायौँ,” उनले भने ।

पक्राउ परेका यादवका पछिल्ला गतिविधिमाथि पनि अनुसन्धान भइरहेको उनले बताए । प्रहरी उपरीक्षक पाण्डेकाअनुसार यसअघि पनि आरोपित यादव चोरी मुद्दामा पक्राउ परेका थिए । चोरी उद्योग मुद्दामा प्रहरी हिरासतमा रहेका यादव सिरहा नवराजपुर गाउँपालिका १ भोटहा टोलका स्थायी बासिन्दा हुन् ।

पछिल्लो समय प्रदेश २ मा चोरीका घटनामा वृद्धि भएको छ ।

प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ