बँदेललाई मार्न थापिएको विद्युतीय धरापमा तीन जनाको मृत्यु


बर्दिया : बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय धरापमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको विद्युतीय धरापमा ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।

धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो ।

प्रकाशित : २०७८ आश्विन २, शनिबार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ