आज सातौं संविधान दिवस : मधेसमा विरोध हुने, देशभर सार्वजनिक विदा


काठमाडौं :  आज संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ ।

सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ ।

दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छb।

नेपालको लिखित संविधानमध्ये यो सातौँ संविधान हो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भएको भए पनि नेपाली जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान नै यो पहिलो हो ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

यद्यपि संविधानका अन्तरवस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा रहेका छन् । यस वर्ष पनि उपेन्द्र यादव समूहको सत्तारुढ जनता समाजवादी पार्टीले दिवस बहिष्कार गर्ने निर्णय गरेको छ ।

यसैगरी महन्थ ठाकुर नेतृत्वको विपक्षी दल लोकतान्त्रिक समाजवादीले पनि संविधान विभेदकारी भएको भन्दै कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।

प्रकाशित : २०७८ आश्विन ३, आईतवार ०५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ