उखु किसानले गत वर्षको अनुदान रकम अझै पाएनन्


सर्लाही : सर्लाहीका उखु किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाएका छैनन् ।

सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान भएका उखु किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको गुनासो गरे ।

भुक्तानीको झन्झटले किसान उखु खेतीबाट निरुत्साहित हुँदै गएका मैनालीको भनाइ छ । चाडबाडको समयमा अनुदान रकम उपलब्ध गराइदिन उखु किसानले सरकारसँग माग गरेका छन् ।

यता, कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवाका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई साताअघि कार्यालयलाई २० करोड सात लाख रुपैयाँ बजेट प्राप्त भइसकेको कार्यालयका जानकारी दिए ।

उनले अहिले रोक्का भएको बजेट खुल्ने बित्तिकै दशैंअघि नै किसानलाई अनुदान वितरण गरिसक्ने बताए । अनुदान वितरणका लागि इन्दुशंकर चिनी उद्योग हरिवनबाट किसानको विवरण लिइसकेको र महालक्ष्मी चिनी उद्योग बगदहले एक/दुई दिनमै विवरण उपलब्ध गराउने बताएको कार्यालयले जनाएको छ ।

उखुको भुक्तानी लिन किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् । तीनवटा चिनी मिल रहेको सर्लाहीमा इन्दुशंकर चिनी उद्योग हरिवनले बेलैमा भुक्तनी दिए पनि महालक्ष्मी चिनी उद्योग बगदहले भने भुक्तानीमा ढिलाई गरेको उखु किसानले गुनासो गरेका छन् ।

यता धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी उद्योग उखु किसानको पुरानो भुक्तानी दिन नसकेर गत वर्षदेखि बन्द रहेको छ ।

प्रकाशित : २०७८ आश्विन ४, सोमबार ०६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ