महोत्तरी : प्रहरीमा निवेदन दिएपनि सुनुवाई नभएको पीडितको गुनासो


ध्रुबकुमार झा, जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय महोत्तरीले मुद्दामा सुनुवाई नगरेको पीडितले गुनासो गरेका छन् । जिल्लाको महोत्तरी गाउँपालिका–१ सनुखरा निवासी ललित कुमार यादवले एकडारा गापा–६ स्थित जनता माध्यमिक विद्यालय कोल्हुवा बगेवामा कार्यरत जलेश्वर न.पा.७ बजराही का प्राविधिक शिक्षक चन्द्र प्रकाश विरुद्ध जिप्रकामा दिएको निवेदनमाथि कुनै सुनुवाई नभएको पीडित यादवले गुनासो गरे ।

निवेदक यादवले प्रहरीले जाहेरी निवेदन दर्ता नगरेपछि न्यायको लागि गुहार गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगेका थिए । प्रशासन कार्यालयले २०७८ भदौ १ गते जिल्ला प्रहरी कार्यालयको नाउँमा पत्राचार गरि पीडितको गुनासोमाथि सुनुवाई गरि घटनाको अनुसन्धान थाल्न आदेश जारी गरेको थियो । सो माथि समेत सुनुवाई नभएको निवेदक यादवले गुनासो गरे ।

जिल्ला सरकारी वकिलको कार्यालयमा गुहार मागेपछि २०७८ भदौ ११ गते कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीको लागि आदेश दिँदै पत्राचार गरेको छ । कार्यालयबाट पठाईएको पत्रमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ५ (२) बमोजिम आवश्यक कारवाही गरि पीडितको गुनासो सुनेर न्याय गर्नु पर्ने उल्लेख रहेको छ ।

जनता मा.वि.एकडारामा कार्यरत शिक्षक सुजित कुमार राय र प्राविधिकतर्फ कार्यरत प्रशिक्षक चन्द्र प्रकाश ठाकुर बिच बिद्यालयको प्रशासन कक्षमै भनाभन भएको पीडित रायका भाई ललित यादवले बताए । बिद्यार्थीहरुलाई विद्यालय र प्रधानाध्यपक विरुद्ध उक्साउने गरेको र जहिले पनि गुण्डागर्दी शैलीमा प्रस्तुत हुँदै आएको प्रशिक्षक ठाकुरले शिक्षक रायलाई निर्मम कुटपीट गरेर गंभिर घाईते बनाएको निवेदकयादवले जानकारी दिए ।

घाईते रायको मुख र नाकबाट रक्तश्राव भएको बताउँदै यादवले भने– प्रादेशिक
अस्पताल जनकपुरधाममा उनको उपचार सम्भव भएन त्यसपछि उनलाई विशेष उपचारको लागि काठमाण्डुमा भर्ना गरिएको छ, प्रधानाध्यापक लगायतका दर्जन भन्दा बढि शिक्षक तथा कर्मचारीहरुकै अगाडि गुण्डागर्दी शैलीमा ठाकुरले कुटपीट गरेको र उनीसंग एक जना नचिनिएका मान्छे समेत संलग्न रहेको थियो ।’

गत साउन २० गते विद्यालय परिसरमै भएको घटनाको दोषीमाथि कारवाहीको मांग गर्दै पटकपटक जिल्ला प्रहरी कार्यालयमा गुहारे पनि सुनुवाई नगरिदिंदा प्रहरीको नियतमाथि शंका उन्पन्न भएको यादवको कथन छ । पीडक ठाकुरले कुटपिट गर्दै एक तोला सुनको सिकरी तथा १५ हजार नगद समेत खोसेको यादवले जिल्ला प्रशासन तथा सरकारी वकिलको कार्यालयमा दर्ता गराएको जाहेर निवेदनमा उल्लेख छ ।

यस्तो मुद्दामा झनै बढि सक्रिय भएर गंभिरता पुर्वक घटनाको अनुसन्धान हुनु पर्नेमा प्रहरीले निवेदन नै दर्ता नगरिदिएर पीडितलाई झन पीडा तथा पीडकलाई राहत दिने गरेकोले प्रहरीको नियतमै खोंट रहेको गुनासो मानवअधिकारकर्मी गुञ्जा रायको रहेको छ । त्यस्तै घरेलु हिंसा सम्बन्धि मुद्दामा त प्रहरीले सुन्दै नसुन्ने गुनासाहरु समेत आउने गरेको ओरेक महोत्तरीकी प्रमुख लिला दियालीको धारणा छ ।

प्रकाशित : २०७८ आश्विन ५, मंगलवार ०७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ