मिथिला क्षेत्रमा जितिया पर्वको रौनक, आमाले गर्छिन् पुत्रको दीर्घजीवनको कामना


महोत्तरी : महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ। घरघरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ ।

असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । ‘हमर बेटा ककरो धारबिगार नई करैतअछि, भगवान् जितवाहन’क आशीर्वाद स हमर बेटा उपकारी बनत्’ (मेरो छोराले कसैको बिगार गर्दैन, भगवान जितवाहन (जितिया पर्वमा आराधना गरिने देवदूत) को आशीर्वादले मेरो छोरा उपकार कार्यमा मन लगाउँछ) व्रतको तयारीमा रहेका मिथिलानी (मिथिलाका नारी) आफ्ना पुत्रको प्रशंसामा यस्तै भनिरहेका भेटिन्छन् ।

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिको व्रत सुरु गरिन्छ। यस्तो ‘ओगटन’ मध्यरातपूर्व नै खाइसक्नु पर्ने व्रत विधान रहेको व्रतालु बताउँछन् । ‘ओगटन’ मा दहीचिउरा खाने चलनले अहिले मिथिलाका बस्तीबस्तीमा शुद्ध दूधको जोहोमा मिथिलानी लागी परेका देखिन्छन् । अघिल्लो मध्यरातपूर्व ‘ओगटन’ खाएर सुरु गरिएको व्रत भोलिपल्ट नवमी तिथि सुरु भएपछि एकघडी कटाएर समापन गर्ने चलन छ।

पुत्रको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रतको विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुने गरेको हो। यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यता छ। यो व्रत मंगलबार गर्ने तयारी छ।

मंगलबार बिहान सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगटन’ (दर) खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्नेछन्। अहोरात्र कटाएर नवमी तिथि पर्खँदा ३६ घण्टासम्म उपवास गर्नुपर्ने यस व्रतको महिमा जनजिब्रोमा रहने गरेको मिथिला संस्कृतिका ज्ञाता बर्दिवास नगरपालिका-२ का दिनेशकुमार झा बताउँछन्। यसपालि मंगलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ।

‘सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर प्राप्त हुने वा भएको मैथिल हिन्दू जनविश्वास छ’, उनले भने। पुत्रको कल्याण र सौर्यवृद्धिको कामना पूरा गराउन पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन्। यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको जितिया व्रत बस्दै आएकी भङ्गाहा नगरपालिका-६ मदनपट्टि थारु बस्तीकी ४० वर्षीया रामरती चौधरीले बताइन्।

पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ्य देखाएर व्रत सङ्कल्प गरिन्छ। व्रतालुले दिवङ्गत सासू, जेठानी, नन्द-आमाज्यू र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ। यस पर्वलाई ‘षोडष मातृका श्राद्ध’ पनि भन्ने गरिन्छ। ति सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिँदै आएको यस पर्वबारे पछिल्लो पुस्ता अनभिज्ञ हुँदै गएको छ। पर्वमा सन्तानका लागि नभनिएर पुत्रको कल्याण र सौर्यवृद्धिको कामना भनिने परम्परा रहेकाले यस पर्वले सन्तानभित्र नै लैङ्गिक विभेद गरेको भन्ने स्वर नयाँ पुस्तामाझ सुनिन थालेको छ। पहिला आमाले सन्तानकै लागि यो व्रत सुरु गरेका भए पनि कालान्तरमा परिवार र समाजमा पुरुष प्रभुत्व बढ्दै गएपछि ‘पुत्र’ का लागि भनेर विभेद घुसाइएको बर्दिवास नगरपालिका-९ का सामाजिक र राजनीतिक कार्यकर्ता दिपीयादेवी महतो बताउँछिन्। आफूले पछिल्ला २५ वर्षदेखि सुरु गरेको यस पर्वमा ‘पुत्र’ का लागि मात्र नभएर हरेक सन्तानको कल्याणका लागि कामना गर्दै आएको उनको भनाइ छ।

व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन्। अघि द्वापरयुगमा एक विधवा ब्रह्माणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन्। राजा जितवाहन र जितिया पर्वको चर्चा पुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै भएको हुनसक्ने मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा बताउँछन्। रासस

प्रकाशित : २०७८ आश्विन ९, शनिबार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ