लामो समयदेखि बन्द मुक्तिनाथ मन्दिर पनि खुल्यो


मुस्ताङ : कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि बन्द रहेको मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर आइतबारदेखि खुला गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । निर्णय बमोजिम गत वैशाख महिनादेखि नै मन्दिर बन्द गरिएको थियो ।

मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए ।

‘स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ’, उनले भने, ‘विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।’

बडादसैँको सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ