हुन्डाईको विद्युतीय कारको मूल्य २३ लाख घट्यो


काठमाडौं : नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एउटै गाडीको २३ लाख रुपैयाँ मूल्य घटाएको छ । हुन्डाई कोना इलेक्ट्रिक गाडीको मूल्य गत वर्षको भन्दा एकैपटक २३ लाख रुपैयाँले घटेको छ ।

नेपाली बजारमा उपलब्ध दुई मोडलका कोना इलेक्ट्रिक मध्ये एउटा १०० किलोवाट र अर्को १५० किलोवाट क्षमताको छ । १०० किलोवाट क्षमतायुक्त कोनाको मूल्य ७६ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजार पुगेको छ । यसमा २० लाख रुपैयाँले मूल्य घटेको छ ।

अर्को १५० किलोवाट कोना इलेक्ट्रिकको मूल्य भने ९४ लाख ९६ हजारबाट २३ लाख रुपैयाँ घटेर ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको हो । नेपाली बजारमा उपलब्ध हुन्डाईको अर्को इलेक्ट्रिक गाडी आयोनिक ईभी हो । १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ७६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा १९ लाख रुपैयाँ मूल्य घटेको छ ।

गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार कर निकै बढाइएकाले अटोमोबाइल कम्पनीहरुले बाध्य भएर नयाँ मूल्य सूची सार्वजनिक गरेका थिए । तर चालु आर्थिक वर्षको बजेटमार्फत अन्तःशुल्क पुरै खारेज गरेर भन्सार दर पनि उल्लेख्य रुपमा घटाइएपछि नेपालमा विद्युतीय सवारीको मूल्य घटेको हो ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ