जनकपुरको यस्तो हिलाम्मे सडक, डा. सीके राउतले फेसबुकमा पोखे आक्रोस


जनकपुरसँग के थिएन ? गौरवशाली ऐतिहासिक धार्मिक विरासत, बौद्धिकहरूको जमघट, पत्रकारहरूको घूँइचो, राजनीतिको प्रादेशिक केन्द्र, फालाफाल बजेट, अन्तराष्ट्रिय रूपमै ध्यानाकर्षण, देशविदेशको चासो, राष्ट्रिय अन्तरराष्ट्रिय अतिथीहरू। यति अवसर हुँदा आज एउटा योग्य मान्छेको हातमा भएको भए जनकपुर कहाँबाट कहाँ फड्को मारिसकेको हुनेथ्यो। तर भिजनलेस भ्रष्टाचारीहरूको हातमा सीताको त्यो पावन जनकपुर आज नरकपुर बन्न पुगेको छ। अरू कुराहरू त छँदैछन्, आज आफ्नै टोलको, आफ्नै निवास वरिपरिको कुरा गर्छु ।

मेरो निवास जनकपुरको केन्द्र रामानन्द चौकभन्दा करीब पाँच मिनेटकै दूरीमा छ। हाम्रो निवासको छेऊमै विद्यालय छ, ५०-१०० मीटर दूरीमा। असारको पहिलो सातामा ठेकेदारले कामदारहरूलाई वर्षामा रूझेरै भए पनि यहाँको बाटो खन्न लगाए। तर असार खत्म, बात खत्म। त्यहाँ बाटो खनेरै मरम्मतै नगरी तिनीहरू गए। विद्यालय जाने बाटो बन्द। बन्द मात्रै हैन, त्यहाँ पानी लागेर डुंगा चढेरै जानुपर्ने अवस्था रह्यो। श्रावणदेखि विद्यालय खुलेपनि स्कूलको उत्तरतिरका बच्चाहरू अहिलेसम्म विद्यालय जान पाएका थिएनन्। पौडेर जाने कुरा भएन।

निवासको अर्कोपट्टीबाट रहेको गल्लीबाट जसोतसो १-२ किलोमीटर घुमेर बजार निस्किन सकिन्थ्यो। त्यो बाटो पनि ८-१० दिन अगाडी आएर ठेकेदारले खनेर बेपत्ता भएको अवस्था छ। दुइटै तिरबाट बाटो बन्द भए पछि आफू पनि न त कार्यालय जान पाइएको छ, न त बजार, न त कुनै कार्यक्रममा। छिमेकीहरूले आएर नेताजीले मेयरलाई/वडाअध्यक्षलाई भनेर काम गराइदिनुपर्यो भन्छन्।

वडाअध्यक्ष/उपमेयर हिजो मात्रै पनि यही टोल नजिकै आफ्नो पार्टी अध्यक्षलाई बोलाएर भाषण ठोक्दै थिए। मेयर आफ्नो डेढ़ करोड़को गाडीमा भ्रष्टाचारको पैसा खर्च गर्न कतै गएका थिए होलान्। सर्लाहीबाट भ्रष्टाचार गरी भागेर जनकपुर आएका सांसद्लाई त यस क्षेत्रको कुरा वा बाटोघाटो थाहा हुने कुरै भएन।

वडा/उपमहानगरपालिका कार्यालयमा बाटो मरम्मत गरेर कम-से-कम हिँडडुल गर्ने बनाइदिन निवेदन दिएको महिना कटेछ, उनीहरूलाई केही मतलबै भएन। उपमहानगरपालिकाले खानेपानी विभागलाई गएर भन्नुस् भन्छ, खानेपानी विभागका डि.ई. ले ठेकेदारलाई गएर भन्नुस् भन्छ, ठेकेदारले मेयर-उपमेयरलाई गएर भन्नुस् भन्छ, यस्तैमा टोलवासीहरूले एक महिना बिताएछन्। पत्र-पत्रिकाले लेख्ने वा टिवी च्यानेलहरूले जनताको पीडा देखाउने कुरै भएन । यहाँसम्मै टन्नै पत्रकारहरू आउँछन जान्छन्, किनकि प्रदेश प्रेस काउन्सिलको कार्यालय त्यही सेतो घरमा छ, तर कसैले जनताको पीडा लेख्ने कुरा भएन। त्यही भएर टोलवासीहरूले मलाई नै एउटा पोस्ट गर्न भने ।

शुक्रबारदेखि स्कूलले परीक्षा लिँदैछ । परीक्षा दिनै भए पनि टोलका बच्चाहरू हिलो र पानीसँग जुझ्दै विद्यालयतिर हतारिएका छन् । दृश्य मार्मिक छ, फोटो खिच्न आउँदैन । तर ती अबोध बालबालिकाहरूलाई समेत थाहा छ – यी भ्रष्टाचारको नरकपुरमा महिनौं वा हुनसक्छ वर्ष दिनमा पनि यो बाटो मरम्मत हुने छैन । कुरो कमिशन र भ्रष्टाचारको जो छ । त्यसैले उनीहरू पनि कतै सुनेको गीतलाई आफ्नै तालमा गाउँदैछन् – ई छी हमर नरकपुर, सीता के नरकपुर !
डा. सीके राउत
राष्ट्रिय अध्यक्ष– जनमत पार्टी

प्रकाशित : 3 October 2021 6:53 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !