खस्‍यो नेपालको पहिलो स्याटेलाइट


काठमाडौं : अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’ सोमबार खसेको छ । मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेर नेपाली स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो ।

नेपाली स्याट-१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए । सोमबार बिहान नेपाली-स्याट-१ सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ खसेको थियो ।

नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको स्याटेलाइटका अर्का निर्माणकर्ता हरिराम श्रेष्ठले जानकारी दिए । उनले भने, ‘नेपाली स्याटेलाइट ८४१ दिन अन्तरिक्षामा खस्यो । यसका सबै मिसन पूरा भए ।’

यसअघि नेपाली स्याटेलाइट अगस्टमा २४मा खस्ने प्रक्षेपण गरिएको थियो । २०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट-१ सहित श्रीलंकाको राभाना-१ र जापानको इगिसु स्याटेलाइट एकसाथ पृथ्वीको तल्लो कक्ष (अर्बिट)मा छाडिएको थियो ।

बर्डस-३ मिसन अन्तर्गत यी स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा निर्माण गरेर अमेरिकाबाट २०७६ साल वैशाख ५ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा पठाइएको थियो । आईएसएसमा पुगेको दुई महिनापछि ३ वटा स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएका थिए । – कान्तिपुर

प्रकाशित : २०७८ आश्विन १८, सोमबार २०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ