विद्यार्थी र कुशल आप्रवासीहरू अष्ट्रेलिया जान पाउने


काठमाडौं : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलवार एक टेलिभिजनलाई अन्तरबार्ता दिँदै कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिने बताएका छन् ।

अष्ट्रेलियाले १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ । गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए ।

गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो । यसैबीच प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरूभन्दा कुशल आप्रवासीहरू र अन्तरराष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् ।

अन्य देशहरूबाट अष्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको हो । २०२२ सम्म बाह्य पर्यटकहरूलाई भने अष्ट्रेलिया नभित्र्याउने बताइएको छ ।

कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ। किनकि यहाँका प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । जारी सीमा प्रतिबन्ध निरन्तर रहदाँ अन्तरराष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन् ।

प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, ‘अर्को प्राथमिकता कुशल आप्रवासी हुन् जो देशका लागि धेरै महत्त्वपूर्ण छन् र जसले पूर्ण खोप पनि लगाएका छन् । साथसाथै अष्ट्रेलियामा अध्ययन गर्न आउने र अध्ययनपश्चत् फर्किने विद्यार्थी पनि त्यतिकै महत्त्वपूर्ण छन् ।’

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार २१:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ