नेपालमा वर्षाले १८ जनाको मृत्यु, ३३ जना बेपत्ता


काठमाडौं : मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३३ जना बेपत्ता छन् ।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका १ छनम बुधबारेमा गए राति पहिरोले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये छजनाको उद्धार गरिएको छ ।

महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा छ बझाङमा २३ सम्पर्कविहीन रहेका जानकारी आएको बताए । यस्तै कैलालीमा पनि चार बेपत्ता भएका छन् ।पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन ।

हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतबारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा गए राति पहिरो झरेर एक घर पुरिएको र त्यहाँ रहेका छ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढी, पहिरोका कारण चार सम्पर्कविहीन भएका र उनीहरुको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिएका छन् ।

अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिए ।

जिल्लामा फसेका नौ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक ३, बुधबार ११:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ