जनकपुर- जयनगर रेलमार्ग भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्यो


काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम (कुर्था) सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रालगायतको सहभागिता थियो । समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो ।

योसँगै जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ । भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैFयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो ।

यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन्  ।  एकपटक सञ्चालनमा आएलगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास लिइएको छ ।

सीमापार रेल सञ्जाल भारत–नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर– बिजलपुरा– बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी– विराटनगर रेलमार्ग पर्छ । यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायतामा निर्माण भएका हुन् । – ईकागज

प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ