टी-२० विश्वकप : आज भारत- पाकिस्तान भिड्दै


काठमाडौं : आईसीसी ट्वान्टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।  समूह-२ मा रहेका यी टोलीबीचको खेल दुबईमा नेपाली समयअनुसार राती पौने ८ बजेदेखि सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा भारत पहिलोपल्ट ट्वान्टी-२० विश्वकप जित्ने प्रयासमा छ। पाकिस्तानको कप्तानी बाबर अजमले गरेका छन् । भारत र पाकिस्तानबीच लामो समयबाट राजनैतिक तनाब रहदै आएको छ । जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ ।

भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । तर, दुबै टिम आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो ।

तालिका अनुसार आजै हुने पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो पौने चारबजे सुरु हुने बताइएको छ ।

प्रकाशित : २०७८ कार्तिक ७, आईतवार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ