सिरहामा लागूऔषध सहित पक्राउ परेका वडाध्यक्ष यादवलाई छाडियो


काठमाडौं : लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई प्रहरीले एकदिन नबित्दै सुटुक्क छाडेको छ । सिराहाको सीमा क्षेत्र माडरबाट पक्राउ परेका सिराहा नगरपालिका वडा नंं. १८ का वडाध्यक्ष राम सोगारथ यादवलाई प्रहरीले छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख हिरालाल पाण्डेले उनलाई छाडिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘हिरासतमा राखेर वा नराखेर दुवै तरिकाले अनुसन्धान गर्न मिल्छ, (लागूऔषधको) धेरै परिमाण पनि होइन । त्यसैले छाडिएको हो ।’ पाण्डेका अनुसार लागूऔषध वडाध्यक्ष यादवको हो कि होइन भन्ने पनि पुष्टि भएको छैन । ‘साथबाट बरामद भएको होइन, पार्किङ गरेको मोटरसाइकलमा थियो’ उनले भने, ‘अर्कोले दिएको भन्ने अवस्था देखियो ।’

जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइन । तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ । मंगलबार प्रहरी सञ्चारले जिल्ला र संघीय कार्यालयमा प्रेषित गरेको विवरणमा चाहिँ वडाध्यक्ष यादवको मोटरसाइकललाई माडरको सीमा क्षेत्रबाटै प्रहरीले पछ्याएको उल्लेख छ ।

बिओपी माडर सिराहामा कार्यरत सशस्त्र प्रहरी जवान देवेन्द्रकुमार यादवले फोन गरेर इलाका प्रहरी कार्यालय, माडरका प्रहरी जवान मनोजकुमार राउतलाई भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकल लागूऔषध लिएर आएको र आफ्नो चेकपोइन्टबाट क्रस भएको सूचना दिएको सञ्चारको विवरणमा उल्लेख छ ।

‘माडर बजार काली चोकमा नियमित ड्यूटी रहने प्रहरीलाई उक्त मोटरसाइकल रोकेर चेकजाँच गर्नु भनेको हुँदा प्रहरी जवान राउतले तत्कालै सोही अनुसारको जानकारी गराएको हुँदा प्रहरीको टोलीले उक्त मोटरसाइकललाई खोजतलास गर्दा कालीचोकमा रहेको चेक प्वाइन्ट क्रस भइसकेको थियो’ विवरणमा भनिएको छ, ‘ड्यूटीमा रहेका प्रहरीले खोज्दा, बुझ्दा काली मन्दिरको उक्त पट्टी सिराहातर्फ आउने बाटोको पश्चिम भागमा स १ ब ९३८ नम्बरको सरकारी प्लेट भएको मोटरसाइकल रोकी राखेको अवस्थामा फेला परेको थियो ।’

मोटरसाइकल धनीबारे खोजविन गर्दा वडाध्यक्ष यादवले प्रयोग गर्ने गरेको भन्ने यकिन भएको भनिएको छ । केहीबेरमा उनी पनि आएको र खानतलासी लिँदा ‘अगाडिको भाइजरभित्र मिटर बक्समाथि मोटरसाइकल पुछ्ने कपडामुनि नाइट्रोभेट १० लेखिएको एक पातामा १५ ट्याब्लेट अवैध लागूऔषध फेला परेको’ उल्लेख छ । – अनलाइनखबर

प्रकाशित : २०७८ कार्तिक १०, बुधबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ