एकैपटक १० लाखले क्लिक गर्दा लाइसेन्सको आवेदन प्रणाली बन्द


काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको हो ।

मर्मतका लागि भन्दै बिहीबारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो । विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।

उनले लाइसेन्स आवेदन खुला गर्नासाथ करिब ९/१० लाख मानिसले एकैचोटी फारम भर्ने प्रयास गर्दा बुधबारदेखि सर्भर पूर्ण रूपमा बन्द रहेको बताए । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले छिट्टै आवेदन खुलाउने उनको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन् । यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ । उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् ।

विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरूको पालो पहिले आउने बताए । उनले हालै आवेदन दिएकाहरूको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए ।

विभागले हाल नयाँ मापदण्ड अनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।

प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ