नेपाल आउन वा भारत जान अब परिचय-पत्रको व्यवस्था गर्ने तयारी


काठमाडौं । सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपै’ठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो ।

खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो । त्यसक्रममा नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव आएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने विषय छलफलमा उठेको बताए । ‘एउटा देशले मात्रै परिचपयपत्रको व्यवस्था गर्दा राम्रो नहुने र त्यो व्यावहारिक पनि नहुने भएकाले दुवै देशले सीमा नाकाबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयको समेत सहभागितामा थप छलफलका लागि आइतबार साँझ सुरक्षा समितिको बैठक बस्नेछ’, गृह मन्त्रालयका प्रवक्ता पोखरेलले भने ।

पछिल्लो समयमा अफगानिस्तानमा भएको सत्ता परिवर्तनपछि भारत हुँदै बेलहिया नाकाबाट अफगानी नागरिक नेपाल पसेका छन् । त्यसअघि म्यान्मार, इराकलगायत मुलुकका नागरिक शरणार्थीका रूपमा नेपाल आइसकेका छन् । छलफलमा सुरक्षा निकायका अधिकारीले शरणार्थीका रूपमा नेपाल आउने विदेशीबाट सुरक्षामा चुनौती थपिने भन्दै त्यस्तो हुन नदिन नेपाल–भारतका नागरिक आवतजावतका लागि दुवै देशले परिचयपत्रको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।

अवैध रूपमा नेपाल पसेका अफगानीलगायत विदेशीलाई राष्ट्रसंघको नेपालस्थित शरणार्थी मामिलासम्बन्धी उच्च आयुक्त (युएनएचसिआर)को कार्यालयले शरणार्थीको परिचयपत्र बनादिएको छ । द्वन्द्वग्रस्त देशहरूबाट शरणार्थीका रूपमा नेपाल आएका मानिस आतं’कवादी समूहबाट परिचालित हुन सक्ने सुरक्षा निकायको आशंका छ ।

प्रकाशित : २०७८ कार्तिक १४, आईतवार १४:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ