जनकपुरमा विद्युत चोरी बढ्यो, ३ जनाको मिटर खोस्यो


जनकपुरधाम । जनकपुरधाममा दिन प्रति विद्युत चोरीको घटना बृद्धि भएर गएको छ । आइतबार मात्रै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरधामबाट खटेको टोलीले मिटर बाईपास गरी विद्युत चोरी गर्दै आएका तीन जनाको मिटर नियन्त्रणमा लिएको अनियमितता शाखाका प्रमुख राजकिशोर यादवले जानकारी दिए ।

आइतबार जनकपुरधाम उपमहानगरपालिका–८ मा छापामारी गरेर मिटर बाईपास गरी विद्युत चोरी गर्दै आएका मिना देवी बरही, राम सुमारी देवी सहित तीनवटा घरको मिटर नियन्त्रणमा लिएको छ । फ्रिज, एसी, दर्जनौ पंखा लगायतका एक सय भन्दाबढी विद्युतीय उपकरण जडान गरेर रामसुमारी देवीले दुई हजारभन्दा कम बिल बुझाउँदै आएको देखिएपछि चोरीको शंका लागेर छापामारी गर्यौं,’ शाखा प्रमुख यादवले भने ।

कम्तिमा ७/८ सय युनिट खपत हुनु पर्ने भएपनि सुमारी देवीले मिटरलाई बाईपास गरेर लामो समयदेखि एक दुई हजार रकम मात्रै बुझाउँदै आएकोले हामीलाई शंका लागेको यादवले थपे । विद्युत चुहावट नियन्त्रण गर्न हामीले अभियान नै थालेको जानकारी दिँदै उनले भने, ‘प्रत्येक दिन एक दुई जनामाथि कारवाही गर्दै आएका छौं । ’

चालु आर्थिक वर्षको असारदेखि हाल सम्म ४० जनामाथि कारवाही गरिएको छ । बिद्युत चोरीमा संलग्न रहेकाहरुलाई दुई लाखसम्म जरिवाना गरिएको शाखा प्रमुख यादवले प्रष्ट गरे । कार्यालयको तथ्यांक अनुसार कारवाही गरिएका ४० जनासंग केन्द्रले १४ लाख २८ हजार ९ सय २१ रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ