अब जनकपुरधाममै १२५ किसिमको स्वास्थ्य जाँच हुने


जनकपुरधाम । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आफ्नो सेवा विस्तार गरेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले सोमबार एक कार्यक्रमबीच सर्ने रोग, नसर्ने रोग, गुणस्तर नियन्त्रण, तालिम तथा सम्पूर्ण प्रयोगशाला जाँचको सेवा सञ्चालन शुभारम्भ गरे ।

मन्त्री साहले प्रदेश २ को स्वास्थ्य स्थिति सुधार गर्न आइतबार यो सेवा सञ्चालन गरिएको बताए । उनले कोरोनाका कारण हुने कुरा पनि हुन नसकेकाले अहिले बल्ल काम थालेको बताए । उनले बिरामी पर्नुअगावै त्यसको जाँचका लागि आइतबार प्रदेशमा प्रयोगशालाको विस्तार गरिएको बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाको मुख्य उद्देश्य नै प्रदेशमा पब्लिक हेल्थ, ल्याबोरेटरी सर्भिस र केमिकल रिलेटेड हेल्थ सर्भिसको सुरु गर्नु रहेको बताए । मिश्रले सुरुमा यस प्रयोगशालामा कोभिड जाँच गरिएको र अहिले आएर एचआइभी भाइरल रोग, हेपाटाइटिस ‘बि’, हेपाटाइटिस ‘सी’, टेवरक्लोसिसको जाँचको सुरुवातसमेत भएको बताए ।

उनले भने, ‘अब हामी प्रदेशको पालिकाहरूमा समेत विस्तार गर्ने क्रममा छौँ ।’ निर्देशक मिश्रले रोगको अर्लि डाइलाइसिसका लागि धरान, काठमाडौँ, दिल्ली जानुपर्ने भएकाले अब जनकपुरधाममै डाइग्नोसिस सर्भिस प्रदेशदेखि जिल्ला स्तरसम्म आएको बताए ।

जनस्वास्थ्य प्रयोगशालामा जडान गरिएको मेसिनरी प्रयोग गर्न दक्ष जनशक्ति लिने काम पूरा भइसकेको मिश्रले बताए । उनले यहाँ रिक्त ह्युमन रिसोर्स, प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, बायोकेमेस्टी, हेमाथोलोजिस्टलगायत भर्ना भइसकेको बताए । लोक सेवा प्रक्रियाबाट प्रयोगशालामा हरेक डिपार्टमेन्ट हाँक्न सक्ने जनशक्ति ल्याइएको मिश्रले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सुरुमा कोरोना परीक्षण मात्र गरिए पनि अहिले आएर बायो केमेस्ट्री डिपार्टमेन्ट, इन्डोक्राइनलोजी डिपार्टमेन्ट, माइक्रोबायोलोजी डिपार्टमेन्ट, हेमाटोलोजी डिपार्टमेन्ट, मोलेकुलर बायोलोजी डिपार्टमेन्टलगायत सुरु भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा अब १ सय २५ किसिमको जाँच हुने भएको छ ।

अब थाइरोइडको जाँच, भिटामिन ए, भिटामीन बि, ट्युमर मार्कर, हार्मोन, प्याप, अटोमेटेड ब्लड कल्चर, अटोमेटिक टिस्यु प्रोसेसिङ, एचआइभी भाइरल लोडलगायतका सेवा प्रयोगशालामा सुरु भएको छ । एचआइभीको जाँच काठमाडौँमा मात्र भइरहेकाले अब जनकपुरधाममा समेत त्यसको जाँच हुने जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार ११:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ