प्रदेश २ मुख्यमन्त्री कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार देखियो : अख्तियार


जनकपुरधाम । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको पुष्टि गरेका हुन् । उनले भने, ‘साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ । प्रारम्भिक अनुसन्धान टुंगिएको छ। दोश्रो चरणको विस्तृत अनुसन्धान सुरु भएको छ। त्यसमा छुट्टै अनुसन्धान अधिकृत नियुक्ति भएको छ।’

उनले दोस्रो चरणको अनुसन्धानमा पनि अनियमितता देखिए संलग्न पदाधिकारीमाथि कारबाही हुने स्पष्ट पारे । ‘अब विस्तृतमा छानबिन र अनुसन्धान हुन्छ। यदि त्यसमा पनि अनियमितता भ्रष्टाचार देखियो भने त्यसमा संलग्न पदाधिकारी अधिकारी उपर भ्रष्टाचारको कसुरमा मुद्दा दायर हुन्छ’ उनले भने ।

प्रमुख सापकोटाले विस्तृत अनुसन्धान साइकल खरिदमा संलग्न अधिकारीहरुलाई छुट्टाछुट्टै बोलाएर बयान लिने भएकोले डेढदेखि दुई महिनासम्म समय लाग्ने पनि प्रष्ट पारेका छन् ।

गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । जसको प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध आन्दोलन नै गरेको थियो ।
साभार : नेपाल खबर

प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ