प्रदेश २ : मधेशी सहिद प्रतिष्ठान गठन, सहिद परिवारका ४ जना सदस्यमा नियुक्त


जनकपुरधाम । प्रदेश २ सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायतमा सहिद भएकाका परिवार तथा घाइतेहरूको हकहितको लागि सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र जनयुद्धका दुई दुईजना सहिद परिवारका सदस्य गरी चारजनालाई नियुक्त गरेको छ । मधेश आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरेको छ।

यस्तै, जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो ।
चारजना सहिद परिवारबाट सदस्य नियुक्त भएकाहरुलाई बिहीबार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष समेत रहेका आन्तरिक मामिलामन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई निर्देशन दिए ।

प्रकाशित : २०७८ मंसिर ९, बिहीबार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ