के नेपालको जनसंख्या घटेको हो ? जनसंख्याले यस्तो देखायो


बीबीसी । नेपालको जनसङ्ख्या यसअघि अनुमान गरिएकोभन्दा ‘कम हुनसक्ने’ केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नयाँ जनगणनाअनुसार अहिलेको जनसङ्ख्या ‘तीन करोड पुग्न नसक्ने’ देखिएको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्छन्, ‘दुई करोड ९० लाखदेखि तीन करोडको बीचमा हाम्रो जनसङ्ख्या हुने अनुमान छ ।’ सङ्कलन गरिएका घर तथा घरपरिवार सूचीकरण फारमका आधारमा त्यस्तो अनुमान गरिएको निर्देशक लामिछानेले बताए ।

उनका अनुसार यसअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्कमा टेकेर १० वर्षमा अर्थात्‌ २०७८ सालसम्ममा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ को पूरै नतिजा आउन एक वर्ष लाग्ने विभागले जनाएको छ ।

जनगणनाको प्रारम्भिक नतिजा चाहिँ फागुनसम्ममा सार्वजनिक गर्ने निर्देशक लामिछानेले बताएका छन् । कार्तिक २५ गतेबाट आरम्भ भएको राष्ट्रिय जनगणना मंसिर ९ गते सकिएको थियो ।

प्रजनन दरमा कमी आउनु अनुमानभन्दा जनसङ्ख्या कम देखिनुको मुख्य कारकका रूपमा देखिएको विभागका अधिकारीहरूले बताएका छन् । सन् २०१९ मा गरिएको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेले नेपालमा प्रजनन दर घटेर २ मा पुगेको देखाएको छ । यसअघि नेपालको प्रजनन दर २.३ थियो ।

दुई भनेको ‘रिप्लेस्मन्ट लेभल फर्टिलिटी’भन्दा पनि कम हो । रिप्लेस्मन्ट लेभल फर्टिलिटी २.१ हुन्छ । रिप्लेस्मन्ट लेभल फर्टिलिटी प्रतिमहिलाले बच्चा जन्माउने औसत दर हो ।

प्रकाशित : २०७८ मंसिर १४, मंगलवार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ