विवाह पञ्चमी : सम्धी मिलन गर्दै सकियो तिलकोत्सव


जनकपुरधाम । त्रेताकालीन युगमा राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

वैवाहिक कार्यक्रमपूर्व राम मन्दिर प्राङ्णमा भव्य समारोहका बीच मैथिली परम्परा अनुसार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो । जानकी मन्दिरका सहायक महन्त राम रोषण दास वैष्णव एक हजार एक पाहुर लिएर राम मन्दिर पुगेका थिए । तिलकोत्सव कार्यक्रममा राम मन्दिरका महन्त राम गिरी दशरथ र जानकी मन्दिरका सहायक महन्त वैष्णव जनकको भूमिकामा थिए ।

तिलकोत्सव कार्यक्रममा भगवान रामका अभिभावकलाई जानकीका अभिभावकले कोसेलीसहित वस्त्र, गहना दिएर (टीका टालो) तिलक लाएका थिए । जानकी मन्दिर परिसरबाट गाजाबाजाका साथ निकलेको कोसेली नगर परिक्रमा गर्दै राम मन्दिर परिसरमा प्रवेश गरेको थियो ।

कोसेलीमा फलफूल, मिठाई, पुरी, ठकुवा, गाँजा, बादशाही, खिर, दही च्युरा लगायतका सामग्रीहरू रामपक्षमा पठाइएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनका स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीद्वारा रचित ‘रामायण’मा गरिएको वर्णनानुसार तिलकोत्सवलाई विशेष महोत्सवका रुपमा मनाउने गरेका छन् ।

तिलकोत्सवको अवसरमा जानकी मन्दिरका सहायक महन्त वैष्णव र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त गिरीले अंकमाल गरी ‘सम्धी मिलान’ गरेका थिए । सो अवसरमा दूवै पक्षबीच हासपरिहासका कार्यक्रम समेत भएको थियो ।

तिलकोत्सवमा मिथिलानीले वैवाहिक लोकगीतहरू गाएर सीताका अभिभावक जानकी मन्दिरका महन्तसहित तिलकोत्सव समारोहमा सहभागी साधुसन्त, महिला श्रद्धालु गीतमार्फत गाली दिदै जिस्काएका थिए । लोक गीतमार्फत गालीगलौज गरी जानकी पक्षका अभिभावकलाई गरिएको स्वागतले तिलकोत्सव समारोहमा थप रौनक थपिएको थियो ।

राम-जानकी विवाह महोत्सवको पांचौ दिन मंगलबार सीताको मटकोर गरिने भएको छ । छैठों दिन स्वयंम्वर तथा शुभ विवाह कार्यक्रम हुनेछ । सातौं दिन राम कलेवा पश्चात विवाह पञ्चमीको समापन गर्ने चलन छ ।

प्रकाशित : २०७८ मंसिर २०, सोमबार १८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ