मेयर यादव अदालतमा ३० हजार धरौटी बुझाएर छुटे


सिरहा । ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव ३० हजार धरौटीमा सोमबार छुटेको छ । थुनछेक बहस हुँदा उनी धरौटीमा छुटेको जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश भट्टराईले बताए ।

कोरोना संक्रमणको बेला मिर्चैया नगरपालिका २ मा दुई स्थानीय युवाहरु राहत वितरण गरेका थिए । मेयर यादवका समर्थकले नगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली बनाउने निर्णय गर्दा किन राहत वितरण आफू खुसी गरेको भन्दै रोक्न खोजेको थियो । त्यही विषयमा २०७६ चैत ११ गते दुई पक्षबीच झडप भएको थियो । झडपमा मिर्चैयाका आमोद भनिने विजयकुमार यादव र सोहन यादव घाइते भएका थिए ।

घाइते सोहनका बुबा राजगीर यादवले ज्यान मार्ने उदेश्यका साथ आक्रमण गरेको भन्दै प्रहरीमा मेयर यादव, शिवशंकर कापरीलगायत विरुद्ध जाहेरी दर्ता गराउन पुगे । प्रहरीले उनको जाहेरी लिएन। पछि उनी सरकारी वकिल कार्यालय पुगे त्यहाँ पनि उनको मुद्दा दर्ता भएन । त्यसपछि उच्च अदालत राजविराजबाट परमादेश गराएर मुद्दा दर्ता प्रहरीमा गराएका थिए ।

आरोपित कापरीसहित प्रहरीले सरकारी वकिल कार्यालय सिरहामा मुद्दाको मिसिल बुझायो । सरकारी वकिलको कार्यालयले मेयर यादवमाथि मुद्दा नचलाउने आंशिक निर्णय गरेपछि पीडितहरु उच्च सरकारी वकिल कार्यालय राजविराज पुगे ।

उच्च सरकारी वकिल कार्यालय राजविराज सप्तरीबाट ०७८ मंसिर ३ मा प्रतिवादी यादव उपर थप अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने निर्णय गरेको छ । सो निर्णय बमोजिम यादवलाई हाजिर हुन र हाजिर नभए पक्राउ गरी बयानका लागि पेश गर्न सरकारी वकिल कार्यालयले मिर्चैया प्रहरीलाई पत्राचार गरेको सरकारी वकिल कार्यालय सिरहाका प्रमुख तथा जिल्ला न्यायधिवक्ता सन्तोष भण्डारीले जानकारी गराए ।

जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले गत ७ गते नै मेयर यादवलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरे पनि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेनन् । म्याद पुर्‍याएर मेयर यादव एकै पटक अदालतमा हाजिर भएका थिए । – शम्भु यादव/अन्नपूर्ण पोस्ट

प्रकाशित : २०७८ मंसिर २०, सोमबार २०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ