प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना व्यक्त, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह


टुडेखोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीता-राम विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

देउवाले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । नेपालकी छोरी देवी सीता हाम्रो गौरवकी प्रतिमूर्ति भएको र हामीले एउटा आदर्श नारीमा हुनुपर्ने गुणसमेत उनले प्रदर्शन गरेको व्यवहारबाट सिक्न सकिने उनको भनाई छ ।

त्रेतायुगमा अयोध्याबाट भगवान् राम प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर वैदिक सनातन हिन्दू संस्कृतिअनुसार राजकुमारी सीतालाई विवाह गरेको मंसीर शुक्ल पञ्चमीको आजको ऐतिहासिक एवं सांस्कृतिक महत्वको विशेष दिनलाई विवाह पञ्चमी पर्वले चिनिन्छ ।

राम र सीताको विवाहको उत्सव मनाउन रामजानकी मन्दिरमा सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने र उनीहरुको कीर्तिको गुणगान गर्दै साताव्यापी विविध धार्मिक कार्यक्रम गर्ने प्रचलन छ । कोभिड–१९ को महामारी निर्मूल नभइसकेको विद्यमान अवस्थामा स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सतर्कतापूर्वक यो पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले सांस्कृतिक महत्व बोकेको यस ऐतिहासिक महान् पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र राष्ट्रिय एकताको भावना अभिवृद्धिमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ