महोत्तरीमा कांग्रेस अधिवेशन गराउन खटेका अर्का अधिकृतले पनि दिए राजीनामा


जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को अधिवेशन अझ अन्योलग्रस्त बनेको छ । क्षेत्र नम्बर-३ मा दोस्रो पटक खटाइएका मतदान अधिकृतले पनि राजीनामा दिएका छन् ।

मंगलबार महोत्तरी क्षेत्र नम्बर-३ को क्षेत्रिय निर्वाचन गर्ने जिम्मेवारी पाएका मतदान अधिकृत हेम बहादुर कार्कीले पनि राजीनामा दिएका हुन् । कार्कीले शारीरिक रूपले अस्वस्थ्य भएकाले निर्वाचन गराउन असमर्थ भएको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालय महोत्तरीलाई राजीनामा पत्र बुझाएका विज्ञप्तिमार्फर्त जनाएका छन् ।

यसअघि १५ मंसीरमा क्षेत्रीय अधिवेशन विवादित हुँदा १८ मंसीरमा पनि मतदान अधिकृत धीरेन्द्र मण्डलले राजीनामा दिएका थिए । मण्डलको लिखित बयान तथा निर्वाचन अधिकृत इन्द्र बहादुर अधिकारीको प्रतिवेदन अनुसार गलत ढंगबाट वितरण गरिएको प्रमाणपत्रहरूलाई केन्द्रीय निर्वाचन समितिले बदर गरी पुनः अधिवेशन गराउन मतदान अधिकृतको रूपमा हेम बहादुर कार्कीलाई नियुक्त गरी खटाएको थियो ।

यसैबीच महोत्तरी कांग्रेसका कार्यवाहक सभापति शम्भु नारायण पाठकले पनि एक विज्ञप्ति जारी गर्दै मतदान अधिकृत हेमबहादुर कार्कीले दुई पक्षलाई बोलाई मतदान केन्द्र स्थान निर्धारण सम्बन्धमा छलफल गराउँदा विवाद उत्पन्न भएपछि कार्कीले बैठकबाट उठी उपस्थिति पुस्तिका बिनानिर्णय लिएर हिँडेका र पछि क्षेत्र नंं ३ को क्षेत्रीय अधिवेशन रोकिएको जनाएका छन् ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ