काँग्रेस महाधिवेशन : कति पदमा हुन्छ निर्वाचन ? उम्मेदवार हुनेले कति शुल्क तिर्नुपर्छ ?


काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशनबाट कोषाध्यक्षबाहेक सबै पदाधिकारीको चयन प्रत्यक्ष निर्वाचनबाट गर्दैछ । महाधिवेशनले १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छ ।

कांग्रेसको १४ औँ महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर)बाट चयन हुने छन् । सभापति, उपसभापति र महामन्त्रीका लागि क्लस्टर नछुट्याएको कांग्रेसले सह–महामन्त्रीका लागि भने क्लस्टर छुट्याएको छ । आठ सह–महामन्त्री पदमा महिलाबाट एक, आदिवासी जनजातिबाट एक, दलितबाट एक, मधेसीबाट एक, खस–आर्यबाट एक, थारूबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एकजना निर्वाचित हुनेछन् ।

महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष ९खुला० ३५ जना निर्वाचित हुनेछ । यस्तै, महिलाबाट ८ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना केन्द्रीय सदस्य चुनिने छन् ।

यसैगरी, महाधिवेशनमा अल्पसङ्ख्यक र अपाङ्गताबाट एक एक जना निर्वाचित हुने छन् भने केन्द्रीय सभापतिले कार्य समितिमा एक तिहाई महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्ने काँग्रेसका नेताहरुले बताएका छन् ।

यसैगरी, केन्द्रीय सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचित गरेका एक कोषाध्यक्ष हुने व्यवस्था छ । १४ औँ महाधिवेशनबाट निर्वाचित हुने १३५ र सभापतिले मनोनित गर्ने ३३ गरी कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने छ ।

कुन पदमा कति शुल्क ?
केन्द्रीय सभापतिको निर्वाचनका लागि उम्मेदवार हुनेले ३० हजार रूपैयाँ शुल्क तिर्नुपर्छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार रूपैयाँ तथा सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर २५, शनिबार ०७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ