देशभर चिसो बढ्यो : न्यानो लुगा लगाउन मौसमविदको आग्रह


काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टाको तापक्रम न्यूनतम ५.४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उनले भने ।

जुम्लाको तापक्रम माइनस ४.७ डिग्री मापन भएको छ । त्यहाँ अधितम तापक्रम १५.९ डिग्री रहेको छ । तराईमा पनि चिसो बढेको छ । तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो । धेरै गर्मी हुनेमध्येको नेपालगञ्जमा न्यूनतम तापक्रम १०.३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ । विराटनगरको न्यूनतम तापक्रम ११.५ र अधिकतम २५.३ मापन भएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ- महाशाखाले भनेको छ । आइतबार बिहान पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ ।

दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार ०७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ