काँग्रेस महाधिवेशन: दोस्रो चरणको निर्वाचन दिउँसो ३ बजेदेखि


काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति चयनका लागि दोस्रो चरणको चुनाव मंगलबार (आज) दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले साढे ३ बजेदेखि मतदान गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो । बेलुका साढे सात बजेसम्म मतदान हुनेछ । सोमबार भएको चुनावमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत नपाएपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।

दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरु दुवैले दोस्रो चरणमा आफ्नो पक्षमा नेताहरुलाई पार्न प्रयास थालेका छन् । दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक देखिएका छन् ।

सोमबार भएको चुनावमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो ।

तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाए । यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० तथा कल्याण्ड गुरुङले २२ मत पाएका छन् । देउवालाई ८२ मत अपुग भयो ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ