सर्लाही : घरमा आगो लागेपछि जलेर २ बालिकासहित ३ जनाको मृत्यु


जनकपुरधाम । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ । आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो ।आगलागीमा जलेकी उनकै पाँच वर्षीया छोरी सुधा कुमारी स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भई घर फर्केको प्रहरीले जनाएको छ ।

यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो ।

कपडामा आगो लागेपछि नालीमा खसेर छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष १, बिहीबार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ