प्रदेश २ : कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत


जनकपुरधाम । प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश प्रदेशसभामा बिहीवार बहुमतले स्वीकृत भएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको उपसभामुख उपमादेवले घोषणा गरेकी छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्वीकार गर्न पेस गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

छलफलका क्रममा सत्तारुढ दल कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले अध्यादेश ल्याउने तरिका गलत भए पति विधेयक नै रद्द गर्नुपर्ने आवश्यकता नरहेको बताए । यद्यपि, उनले विश्वविद्यालयको नाममा आपत्ति जनाए ।

उनले भने, ‘विश्वविद्यालय विश्वभरिका व्यक्ति आएर पढ्ने ठाउँ हो, यसमा प्रदेशको टोपी लगाइदिने ? सुन्नुभएछ यस्तो नाम कहिल्यै ?’ उनले विश्वविद्यालयमा प्रदेश थपेपछि त्यसको महत्व घट्ने बताए।

यस्तै, प्रमुख प्रतिपक्षी दल लोसपाका सांसद जानकीशरण साहले प्रदेश सरकारले ल्याएको अध्यादेशमा आफ्नो विरोध रहेको बताए । सामान्य स्थितिमा समेत अध्यादेश ल्याउनु खेदजनक रहेको उनको भनाइ छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ