सिरहामा राजमार्ग खुलाउने नाममा तरकारी बेच्ने किसानमाथि प्रहरीको ज्यादती


गणेश साह, गोलबजार । सिरहामा निषेधाज्ञाको नाममा प्रहरीले किसानमाथि ज्यादती गरिरहेका छन् । गोलबजारमा आज प्रहरीले तरकारी बजार लाग्न दिएन । तरकारी बेच्न आएका व्यापारीमाथि प्रहरीले ज्यादती गरेका हुन् ।

जनमत पार्टीले गरेको चक्काजामको प्रभाव राजमार्गमा पर्न नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको पालना गराउने नाममा प्रहरीले तरकारी बजार समेत लाग्न नदिएको र आफूहरुलाई गालीगलौज गर्दै लखेटेको व्यापारीको गुनासो छ ।

निषेधाज्ञा आदेशमा पुस १३ र १४ गते सिरहा-चोहर्वा सडक खण्ड र राजमार्ग क्षेत्रमा ५ सय मिटर आसपासमा हिड््डुल, भेला, जुलुस जस्ता गतिविधिमा रोक लगाएको छ । यस्तो आदेश प्रशासनले जारी गरेपछि प्रहरीले कार्यान्वयण गराउने नाममा गोलबजारस्थित राजमार्ग क्षेत्रमा लाग्ने तरकारी बजार बन्द गराएपछि व्यापारीहरु समस्यामा परेका हुन् ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गारएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टीले आईतवार आमहड्ताल गरेका थिए । आमहड्ताल सफल पार्न सडकमा निस्केका कार्यकर्तामाथि प्रहरीले दमन गरेको र १४ कार्यकर्तालाई पक्राउ गरेको विरोधमा सोमवार समेत जिल्लाभर चक्काजामको कार्यक्रम यथावत राख्यो ।

आईतवार र सोमवारको आन्दोलन पश्चातपनि प्रशासनले माग पुरा गर्न चासो नदेखाएको र दमनको नीति लिएको भन्दै जनमत पार्टीले आज र भोली समेत चक्काजामको घोषणा गरेको छ । तर प्रशासनले चक्काजाम असफल पार्न निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित : २०७८ पुष १३, मंगलवार ०८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ