अन्सारी, साह सहितका व्यक्तिमाथि मुद्दा दायर, १६ करोड बिगो माग


काठमाडौं । नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले १६ करोड चार लाख ४६ हजार ४३३ रुपैयाँ बिगो माग गर्दै बाराको युनिक लुद्दिन इन्टरनेसनल प्रालि र त्यसका सञ्चालकविरूद्ध मुद्दा दायर गरेको छ ।

बुधबार विभागले प्रालिका सञ्चालक जमालद्दिन अन्सारी, जयकिशोर साह, सूर्यजितप्रसाद साह र तयनाथ अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो । वस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि करण बिजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको आरोप उक्त प्रालि र सञ्चालकलाई लगाइएको छ ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धि कर ५ करोड ३५ लाख १२ हजार ८०४, आयकर ९ करोड ३४ लाख २७ हजार ११ र लाभांश १ करोड ३५ लाख छलेको अनुसन्धानमा खुलेको छ ।यसैगरी, बारा प्रसौनीको न्यू माया ट्रेड कन्सर्नका प्रोप्राइटर भुवन मुखिया बिनविरूद्ध ३१ लाख ४२ हजार बिगो माग्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यसैगरी विभागले विदेशी विनिमयसम्बन्धी कसूरमा बुद्ध ज्वेलरी वर्कसपका सञ्चालक बुद्ध विश्वकर्मा, मेघराज विश्वकर्मा, विर्तामोडका अमिर लगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीविरूद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूसँग १२ करोड ५ लाख ८५ हजार ९७८ रुपैयाँ बिगो, बिगो बराबरकै जरिवाना र कैद सजाय माग गरिएको विभागले जनाएको छ ।

प्रकाशित : २०७८ पुष १४, बुधबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ