वनका यी कर्मचारी २२ वर्षमै ३२ स्थानमा घरजग्गा किनेको खुलासा


काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बिष्ट दम्पतीका नाममा काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कन्चनपुर, कास्कीलगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ । कतिपय स्थानमा बिष्टका नाममा र कतिपय स्थानमा उनकी पत्नीका नाममा घरजग्गा छन् ।

यस्तै कतिपय स्थानमा दुवै जनाको संयुक्त नाममा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा लेखिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए । ‘१९ वटा बैंकमा बिष्ट दम्पतीका नाममा खाता र ३२ स्थानमा घरजग्गा रहेको आरोपपत्रमा उल्लेख छ’, उनले भने ।

अख्तियारले बिष्टले सार्वजनिक पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी बिष्टको नाममा पनि राखेकाले जफत गर्न माग गरेको छ । आरोपपत्रमा बिष्टलाई छुट्टै सजायको पनि माग छ । – नागरिक

प्रकाशित : २०७८ पुष २२, बिहीबार ०७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ