१४ जिल्लाका सिडिओको सरुवा, हेर्नुस् को कहाँ पुगे


काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहत रहेका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १४ जिल्लामा कार्यरत सहसचिव र उपसचिव सरहका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

जसमा कतिपय प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिएका छन् भने मन्त्रालयका कार्यरत सहसचिव एवम उपसचिव प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएका छन् ।

मन्त्रालय स्रोतका अनुसार सुर्खेतका प्रमुख जिल्ला अधिकारी सहसचिव छवि रिजाललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा फाजिलमा रहेका सहसचिव रमेश ढकाललाई भने बागलुङको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काको भने गृह मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयमा कार्यरत सहसचिव माधवप्रसाद ढुुंगाना इलामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भएका छन् । यस्तै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपसविच बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरैलाई पठाइएको छ ।

रुकुप पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी भने मन्त्रालयमा कार्यरत उपसविच परमानन्द घिमिरेलाई दिइएको छ । ओखलढुंगाका प्र्रुमख जिल्ला अधिकारी उपसचिव बन्दना राई गृह मन्त्रालय तानिदाँ मन्त्रालयका उपसचिव एवम सूचना अधिकारीको जिम्मेवारीमा रहेका दिलकुमार तामाङलाई ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी उपसचिव गोपाल अधिकारी मन्त्रालय तानिदाँ इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौडेललाई बाजुराको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी मन्त्रालय तानिदाँ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय भने दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएका छन् ।

तर गृह मन्त्रालयले भने सरुवा हुने सहसचिव र उपसचिवको सूची सार्वजनिक गरेको छैन् । मन्त्रालयमा यस बारेमा बुझ्दा कसैले सरुवाको सूची सार्वजनिक गर्न मानिरहेका छैनन् । गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहचिव प्रदिपकुमार कोइरालाले सहसचिव र उपसचिवको सरुवा बुधबार नै भएको भए पनि आफुलाई क–कसको सरुवा भएको हो भन्ने बारेमा जानकारी नभएको बताए । उनले भने, ‘निजामती कर्मचारी प्रशासन शाखा प्रमुख शोभाखर रेग्मीलाई सोध्नुस उहाँसँग सरुवा भएका सहसचिव र उपसचिवको सूची छ ।’

रेग्मीले भने आफुले प्रवक्ता कोइरालालाई उक्त सूची उपलब्ध गराइसकेको र प्रवक्तासँग बुझ्न अनुरोध गरे । त्यति मात्र नभएर उनले गृहमन्त्रीको प्रेससल्लाकारसँग पनि बुझ्न भने । यस अघि गृह मन्त्रालयले सरुवा हुने वित्तिकै मन्त्रालयको वेवसाइटमा राख्ने गरेको भए पनि विगत केहि समय यता भने वेवसाइटमार्फत सार्वजनिक गर्ने काम पनि रोकिएको छ ।

सरुवा भएका सहसचिव र उपसचिवको सूची गृह मन्त्रालयले किन लुकाएको भन्ने प्रश्नमा गृहसचिव टेकनारायण पाण्डेले केहि समयभित्र वेवसाइटमा राखिने बताए । तर, अहिलेसम्म पनि सरुवा हुनेको सूची वेवसाइटमा राखिएको छैन् ।

प्रकाशित : २०७८ पुष २२, बिहीबार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ